सुन्तला सुपरजोनमा खैलाबैला

'शीतभण्डारमा राखेका सुन्तला ढुसीले सखाप'

यस वर्ष सुन्तला उत्पादनबाट हौसिएका स्याङ्जाका किसानले त्यसपछिको व्यवस्थापनमा चूक हुँदा अपेक्षित लाभ लिन सकेनन्।

यसपालिको हिउँदमा स्याङ्जामा सुन्तला बिछट्टै फल्यो । वर्षा ठिक्क भयो, अनि असिनाले बोट र बतिला लछारेन । त्यसैले त दशैं–तिहारताका सुन्तलाका हाँगा भुइँ नै छुने गरी निहुरिरहेका थिए ।

काठमाडौं, पोखरा, बुटवल र नारायणगढका व्यापारीले बगैंचामै आएर कुतमा दाम लगाउन थालिसकेका थिए । १०० हाराहारी किसानले रु.१० लाखभन्दा बढीको सुन्तला फलाए । कोहीले त रु.४० लाखभन्दा बढी पनि कमाएको दाबी गरे।

किसान एवं उद्यमी दिलबहादुर रानाको योजना भने अलि फरक थियो । पुतलीबजार नगरपालिका–७ ठूलाडिहीस्थित रानाको पुख्र्याैली बगैंचामा सुन्तलाका करीब ७०० बोट छन् । तीमध्ये करीब १३० बोटमा यसपटक झण्डै ८ टन फल लाग्यो । तर, मनग्ये फलको बेफाइदा, बजारमा आपूर्ति धेरै हुने, भाउ कम पाइने । अझ सबैले उही बेला बेच्दा सुन्तलाको भाउ सर्लक्कै झर्छ । रानाले छिमेकीको बगैंचाका सुन्तला समेत थोकमा किनेर पर्खने विचार गरे । मध्य–मंसीरमै उनले पहिलो खेप सुन्तला टिपे। हरियो छँदै टिपेका सुन्तला शीतभण्डारमा राख्न ठिक्क थिए।

स्याङ्जा बजारबाट ७ किलोमिटर पर जैसीडाँडामा पोहोर मात्र खुलेको छ, स्याङ्जा शीतभण्डार सहकारी संस्था । पोखराबाट बुटवल जाँदै गर्दा सिद्धार्थ राजमार्गबाट १०० मिटर तल सियाँल परेको भिरालोमा देखिन्छ यो भवन । यही शीतभण्डारमा रानाले पुस ९ मा अन्तिम खेप पुर्‍याउन्जेल २० किलोका १ हजार २८४ क्रेट अर्थात् जम्माजम्मी २५.६ टन सुन्तला जम्मा गरिसकेका थिए । त्यसपछि केही फुर्सदिलो भएका उनी परिवारसँग समय बिताउन, सुँगुरको रेखदेख गर्न र अर्को बालीका लागि मलखाद तयार गर्न घरतिर लागे।

दुई महिनापछि बजारमा सुन्तला सकिन थाल्दा मात्र शीतभण्डारमा साँचिराखेको सुन्तला बेच्ने उनको मनसाय थियो । तर, घर फर्किएको दुई सातामै रानालाई शीतभण्डारबाट खबर आयो— ‘सुन्तलामा समस्या आयो ।’ गएको वर्ष करीब ४ टन सुन्तलामध्ये १५ प्रतिशत नाश हुँदा पनि रानाले शतप्रतिशत नाफा कमाएका थिए । त्यसैले यो खबरलाई उनले खासै वास्ता गरेनन् । तारन्तार फोन आएपछि मात्र उनी शीतभण्डारतर्फ हान्निए । “आधा सुन्तला ढुसीले सखाप पारेछ”, उनले भने।

स्याङ्जाको पुतलीबजार–१० स्थित स्याङ्जा शीतभण्डार सहकारीमा राखिएकामध्ये कुहिएका सुन्तला । तस्वीरहरु: दिनेश काफ्ले

यसरी सुन्तला गुमाउने राना एक्ला थिएनन् । शीतभण्डारमा राखिएको १२६ टन सुन्तलामध्ये ५० प्रतिशत ढुसीले सकिए । बचेका सुन्तला पनि बिग्रने डरले हतारहतार कम भाउमै बेचियो।

रु.१ खर्ब ३० अर्बको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चालु भइरहँदा स्याङ्जालाई सुन्तला सुपरजोन बनाउने कार्यक्रममा किसानको प्रत्यक्ष संलग्नतामा खुलेको यस शीतभण्डारले टेवा दिने अपेक्षा गरिएको छ । तर शीतभण्डार व्यवस्थापनमा यसपालि देखिएको कमजोरीले उत्पादनपछिको बजार मूल्य शृंखलामा अत्यावश्यक सुधारको आवश्यकता छर्लङ्ग पारेको छ ।

२२ हजार टन सुन्तला उत्पादन भएको वर्ष, उत्पादन उत्कर्षमा पुगेको दुई महिना बित्दा नबित्दै बजारमा स्थानीय उत्पादनको अभाव छ। आयातित सुन्तलाले बजार ढाकेको छ।

नेपालको मध्यपहाडी क्षेत्रमा, समुद्री सतहभन्दा ८०० देखि २४०० मिटरसम्मको उचाइमा हुने सुन्तला खेतीले देशको कुल कृषि उत्पादनमा ०.८५ प्रतिशत योगदान पुर्‍याउँछ । स्याङ्जाका किसानका लागि यो प्रमुख नगदे बाली हो । जिल्लामा यस वर्ष मात्रै करीब रु.१ अर्ब ३८ करोड बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रका स्याङ्जा एकाइ प्रमुख विनोद हमाल बताउँछन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपाली किसानले आर्थिक वर्ष २०७७/७८ मा १८ हजार ३६९ हेक्टरमा १ लाख ९८ हजार ४०६ टन सुन्तला फलाए । त्यस वर्ष स्याङ्जामा मात्र १ हजार २२५ हेक्टरमा १८ हजार ३५० टन सुन्तला फल्यो ।

पछिल्लो ५० वर्षदेखि व्यावसायिक रूपमा उत्पादन गरिंदै आएको सुन्तला स्याङ्जाका कतिपय किसानको मुख्य आयस्रोत बनेको छ । “२०३० सालमा कृषि कार्यालयले दिएका तीन बिरुवा ल्याएर रोपेको हुँ । अहिले १२०० बोट पुगे” जिल्लामा व्यावसायिक सुन्तला खेती शुरू गर्ने पहिलो पुस्ताका किसान कृष्ण अर्यालले भने, “२०३४ सालमा एक डोको सुन्तला फलाएको थिएँ, यो वर्ष ३६ लाख जति पारें ।”

नेपालमा सबैभन्दा बढी घनत्वमा सुन्तला खेती हुने जिल्ला हो, स्याङ्जा । त्यसैले आर्थिक वर्ष २०७३/७४ मा सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत यस जिल्लालाई एक मात्र ‘सुन्तला सुपर जोन’ घोषणा गर्‍यो । यो १० वर्षे परियोजनाले निश्चित कृषि व्यवसाय प्रवद्र्धनको सम्भाव्यता पहिचान गर्छ र तिनलाई पकेट, ब्लक, जोन र सुपर जोनमा विकास गर्न सघाउँछ ।

सुपर जोनले जिल्लाको दुई हजार हेक्टर भूमि र करीब तीन हजार किसानलाई समेटेको छ । जिल्लामा न्यूनतम १२ लाख सुन्तलाका बोट रहेको अनुमान छ । आगामी चार वर्षमा परियोजना सकिंदासम्म स्याङ्जामा सुन्तला खेतीको क्षेत्रफल बढाएर तीन हजार हेक्टर पुर्‍याउने परियोजना कार्यान्वयन एकाइ स्याङ्जा प्रमुख माधव लम्साल बताउँछन्।

“सुपर जोन कार्यक्रम शुरू भएबाट जिल्लामा सुन्तला खेतीको लहर चलेको छ” एकाइका कृषि अधिकृत टुकबहादुर थापाले भने, “जंगल फँडानी गरेर सुन्तला खेती गर्न चाहने थुप्रै किसान प्राविधिक सहायता माग्न हामीकहाँ आइरहेका छन् ।” सुन्तला खेतीलाई व्यावसायिक रूपमा विकास गर्न लागिपरेका स्याङ्जाका धेरै किसानमध्ये एक हुन्, पुतलीबजार–१० राङखोलाका किसान मुक्ति अधिकारी । अधिकारीले १५ वर्ष दक्षिण कोरियामा बिताए, उनकै भाषामा थ्री–डी काम (डर्टी, डेन्जरस र डिफिकल्ट) गर्दै । घरमा बुवा बिरामी परेपछि १० वर्षअघि देश फर्किएका उनी फेरि कोरियाको त्यही दलदलमा फर्कन चाहेनन् । बरु जिल्लामा सुन्तला खेतीका शुरुआती अभियन्तामध्येका बुवा तेजनारायणले २०३० सालतिरै बनाएको सुन्तला बगैंचा सम्हाल्ने विचार गरे । “म त जन्मेहुर्केकै सुन्तलाबारीमा हो नि”, गत माघ दोस्रो साता सुन्तला टिप्दै गरेका खेतालालाई सघाइरहेकन अधिकारीले सुनाए।

“तपाईंसँग स्याङ्जामा उत्तर–पूर्व फर्केको ५ रोपनी जग्गा छ भने, सरकारी जागिरको पछि दौडिनुभन्दा सुन्तला खेती गर्नुभए हुन्छ” आफूसँग जिल्लामै सबैभन्दा धेरै सुन्तलाका बोट भएको दाबी गर्ने अधिकारीले थपे, “यस वर्ष ४५ लाखको सुन्तला बेचें, अब चार–पाँच वर्षमा यी साना बुटाले फल दिन थाले भने म वर्षमा एक करोडभन्दा बढी कमाउनेछु।”

तर शीतभण्डारको समस्याले उनलाई पिरोलेको छ । यस वर्ष उनले भण्डारण गरेको १२.३ टन सुन्तलामध्ये ४.५ टन सुन्तला मात्र बाँकी रह्यो । त्यही बचेको पनि उनले सस्तोमा बेचे । शीतभण्डारका व्यवस्थापन बोर्ड सदस्य समेत रहेका अधिकारीले भने, “परियोजना कार्यान्वयन एकाइ र कृषि ज्ञान केन्द्रले जिम्मेवार भएर शीतभण्डारलाई वैज्ञानिक एवं प्राविधिकको सहायता प्रदान गर्नुपथ्र्यो।”

शीतभण्डारले पनि पिरलो

सुन्तलाको नोक्सान कम गर्दै मूल्यशृंखला बढाउने उद्देश्यले सन् २०१२ मा स्याङ्जा शीतभण्डार सहकारी संस्था स्थापना भयो । स्थापनाको १० वर्षपछि पोहोर मात्र शीतभण्डार सञ्चालनमा आयो। शुरूमा परीक्षणकाल भनेर किसानलाई सित्तैंमा सुन्तला भण्डारण गर्न दिइँदा त्यो वर्ष नोक्सान १० प्रतिशत मात्रै थियो । भण्डारण गरिएका सुन्तला ‘अफ सिजन’ मा बेचेर राम्रो दाम कमाएका किसानले यस वर्ष झन् धेरै सुन्तला भण्डारण गरे । शीतभण्डारले सञ्चालन लागतको केही अंश कटौती गर्न तीन महीना भण्डारण गर्दा प्रतिक्रेट रु.१२० का दरले शुल्क लियो । बिजुलीको बिल भने परियोजना कार्यान्वयन एकाइले ५० प्रतिशत तिरिदिने भयो।

किसानको प्रत्यक्ष संलग्नता र जिल्लाभरिका १०४ सहकारी र तीन नगरपालिका— पुतलीबजार, गल्याङ र भीरकोटको सहयोगमा शीतभण्डार स्थापना गरिएको हो । सहकारी विभागको ६० प्रतिशत अनुदान सहयोगमा रु.२४ करोडको लागतमा २५०० टन क्षमताको शीतभण्डार बनाउने प्रारम्भिक योजना थियो। राष्ट्रिय सहकारी विकास बोर्डबाट रु.२ करोड ऋण सहायता सहित बाँकी रकम अन्य स्रोतबाट संकलन गरिएको शीतभण्डारका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए।

तर, सबथोक योजना अनुसार हुन सकेन । बजेट अभावका कारण १२०० टन क्षमताको ब्लक ‘ए’ फाउन्डेसन र पिलर मात्र उठाइएको अवस्थामा अलपत्र छ । फाउन्डेसनमाथि ७.३५ करोड खर्चिएर बनिबनाउ प्यानल र जस्तापाताले उभ्याइएको १३०० टन क्षमताको ब्लक ‘बी’ सञ्चालनमा छ । दुईतले ब्लक ‘बी’मा तीन खण्ड छन् । प्रत्येक खण्डमा तीन कुलिङ फ्यान, दुई वटा आर्द्रता उपकरण (ह्युमिडिफायर) र एउटा अक्सिजन रेगुलेटर छन्। बिग्रेका सुन्तला ब्लक ‘बी’को पहिलो खण्डमा राखिएका थिए । ढुसी संक्रमण पत्ता लाग्नेबित्तिकै तिनलाई ब्लक ‘बी’ को दोस्रो खण्डमा सारियो।

माघ दोस्रो साता किसान र कामदार ब्लक ‘बी’ बाट सुन्तला निकालेर आँगनमा ल्याएर फिंजाउने र त्यहाँबाट केलाउने काम गर्दैथिए। करीब एक दर्जन महिला–पुरुष बिग्रन लागेका सुन्तला अलग्याएर शीतभण्डारको आँगनमा सुस्ताइरहेका थिए।

कुहिएका सुन्तला फाल्न अलग्गै क्रेटमा राखियो । हल्का ढुसी लागेका सुन्तलालाई भने सुतीको कपडाले पुछ्दै आधा भाउमा बजार पठाउन अलग्याइयो। ताजा देखिने सुन्तलालाई सफा गरी छुट्याएर जेठी, माइली र कान्छी गरी तीन अलग क्रेट समूहमा राखियो— क्रमैसँग प्रतिकिलो १००, ८० र ५० मा बेच्ने गरी।

यहाँ काम गरिरहेकाहरूमध्ये दिलबहादुर राना बडो सोचमग्न भएर सुन्तला छुट्याउँदै थिए । “तापक्रममा हेरफेर गर्न हुँदैनथ्यो” रानाले भने, “तापक्रम ५.५ डिग्री सेल्सियस हुन्जेल मैले १० प्रतिशत सुन्तला मात्रै गुमाएको थिएँ । तर १० डिग्री सेल्सियस बनाएपछि झन् बर्बाद भयो ।” शीतभण्डार खुलेसँगै किसानलाई अब चैत–वैशाखमा पनि सुन्तला बेचेर मुनाफा दोब्बर गर्न पाइने भयो भन्ने आश थियो । तर सोचेजस्तो भएन।

समस्या अन्यत्र पनि

रानालगायत धेरै किसानलाई तापक्रममा हेरफेरले सुन्तला बिग्रिए जस्तो लागे पनि अन्यलाई भने त्यस्तो लाग्दैन । तापक्रम मात्र सुन्तला बिग्रनुको कारक नभएको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमका प्रमुख उमेशकुमार आचार्य बताउँछन्।

संक्रमण नियन्त्रणबाहिर गएपछि अनुगमनका लागि निम्त्याइएका वैज्ञानिक तथा अन्य सरोकारवालामध्ये आचार्य पनि एक थिए । आचार्यका अनुसार शीतभण्डारको तापक्रम ५.५ डिग्री सेल्सियस कायम गरिएको थियो, जसले गर्दा सुन्तलामा शीतघात पर्‍यो । सापेक्षिक आर्द्रता ७५ प्रतिशत कायम थियो । सुन्तला भण्डारणका लागि ८–१२ डिग्री सेल्सियस तापक्रम र ८५ प्रतिशत आर्द्रता उपयुक्त हुने उनले बताए।

आचार्यका अनुसार शीतभण्डारमा अन्य समस्या पनि छन्। शीतभण्डारको ढोका जो–कोहीका लागि हरहमेशा खुला राखिएको थियो । एउटा क्रेट बोकेर आउनेले पनि सजिलै भित्र पसेर भण्डारण गर्न सक्थ्यो, जसका कारण तापक्रम बिथोलिन वा संक्रमण फैलन सक्थ्यो। कतिपय सुन्तला असाध्यै साना र चोट लागेका पनि थिए र दीर्घकालीन भण्डारणका लागि योग्य थिएनन्।

“नीलो र हरियो ढुसीको संक्रमण शीतभण्डारमा फैलनु अस्वाभाविक होइन। खासमा, सुन्तलाको संक्रमण बगैंचाबाटै शुरू भइसकेको हुन्छ। त्यसैले टिपेपछि स्रोतमै सफा पानी र क्याल्सियम क्लोराइडको मिश्रणले सफा गर्नुपथ्र्यो” आचार्यले भने, “फल टिप्दा र टिपिसकेपछि अपनाउनुपर्ने मापदण्ड अपनाएको पाइएन।”

लामो समय भण्डारण गरिने फलफूललाई अरूभन्दा बढी ध्यान दिनुपर्छ। शीत नपरेका बेला पञ्जा लगाएर कैंचीले फल टिप्नुपर्छ। टिपिसकेपछि पनि सफा पानी र क्याल्सियम क्लोराइडको घोलले धोएर छायाँमा सुकाउनुपर्छ। र, टिपेको २४ घण्टाभित्रै यो सबै प्रक्रिया सकेर निर्मलीकृत क्रेटमा भण्डारण गरिसक्नुपर्छ।

मापदण्डको उचित कार्यान्वयनमा चूक भएको शीतभण्डारका अध्यक्ष श्रेष्ठ स्वीकार्छन्। ‘कति किसानले त सुन्तला बोरामै बोकेर ल्याउनुभएको थियो । तर शीतभण्डारसम्मै आइसकेका किसानलाई हतोत्साहित नबनाऔं भनेर हामीले फिर्ता पठाएनौं। गल्ती त्यहीं भयो”, श्रेष्ठले भने।

आचार्य र श्रेष्ठ दुवैको कुरामा राष्ट्रिय कृषि अनुसन्धान केन्द्र मालेपाटन, पोखराकी फलकृषि विशेषज्ञ अस्मिता खनाल सहमत छन्। “गएको वर्ष किसान थोरै भएकाले शीतभण्डार प्रयोगको मापदण्ड लागू गर्न सहज थियो । यसपालि उत्पादन भण्डारण गर्न आउने किसानको संख्या अप्रत्याशित रूपमा बढेकाले मापदण्ड पूरै लागू गराउन सकेनन्। संक्रमित र ताजालाई जथाभावी मिसाइदिंदा सद्दे सुन्तला पनि संक्रमित भए”, खनालले भनिन् । शीतभण्डार सञ्चालनका लागि दक्ष जनशक्तिको अभाव पनि समस्याको कारक भएको कृषि ज्ञान केन्द्रका विनोद हमालले बताए । “हामीले सूक्ष्मस्तरमा अक्सिजन, आर्द्रता र तापक्रम व्यवस्थापन गर्न सकेनौं” उनले भने, “यहाँ आफ्ना शीतभण्डार इन्जिनियर छैनन्, भारतबाट ल्याउन महँगो पर्छ।”

जोखिमको भर्पाई अभाव

सुन्तला बिग्रिएर भएको नोक्सानको पीर त छ नै, बीमा पनि नभएकाले किसान झन् मर्कामा परेका छन् । स्याङ्जामा कृषि बीमाका लागि तोकिएको एजेन्सीको आनाकानीका कारण सुन्तलाको बीमा योजना असफल भएको अध्यक्ष श्रेष्ठ बताउँछन् । “उच्च जोखिम सम्भाव्यताका कारण बीमा कम्पनीले फलफूलको बीमा गर्न अनिच्छा देखाए । बगैंचाको फलको बीमा हुन्छ । तर शीतभण्डारमा सञ्चित सुन्तलाको बीमा हुँदैन”, श्रेष्ठले भने।

स्याङ्जामा कृषि बीमाका लागि आधिकारिक संस्था प्रभु बीमाकी कृषि विभाग प्रमुख रेणु दीक्षित भने श्रेष्ठको दाबी अस्वीकार गर्छिन् । “सन् २०१९ बाटै सम्पत्ति बीमालेख मार्फत शीतभण्डारका सुन्तलाको बीमा गर्ने नीति छ । शायद हामीले पुग्दो प्रचार गर्न सकेनौं होला । एक हजार बराबरको सुन्तलाका लागि ३ रुपैयाँका दरले बीमांक तोकिएको छ”, दीक्षितले भनिन्।

बीमाको सम्भावनाबारे बुझ्न शीतभण्डार सञ्चालकबाट आफूलाई फोन पनि आएको प्रभु इन्स्योरेन्सका प्रतिनिधि रञ्जित श्रेष्ठ बताउँछन् । “मैले उहाँहरूलाई सुन्तलाको बीमा सम्भव छ भनेको थिएँ, दर पनि बताएको थिएँ” उनले भने, “फेरि फोन गर्छौं भन्नुभयो, तर फोन आएन ।” प्रभु इन्स्योरेन्स कम्पनीको सम्पत्ति बीमालेखको दफा ५ (घ) अनुसार कम्पनीले तापक्रम घटबढ भएका कारण शीतभण्डारमा राखिएका सामग्रीमा आएको नोक्सान बेहोर्दैन। तर शीतभण्डारभित्रका उपकरण लगायत जडित संरचनालाई भने समेट्छ । यही प्रावधानले किसानलाई अप्ठ्यारोमा पारेको छ । शीतभण्डार र कृषि ज्ञान केन्द्रका प्रतिनिधि लगायत सरोकारवालाले व्यापक नोक्सान व्यहोरेका किसानलाई राहत दिलाउन सरकारी निकायको ढोका ढकढक्याइरहेका छन्।

“हामीले विभिन्न सरकारी निकायबाट क्षतिपूर्ति माग गरेका छौं । सहयोगको आश्वासन आए पनि ठोस पहल देख्न अझै बाँकी छ”, शीतभण्डार अध्यक्ष श्रेष्ठले भने । कृषि ज्ञान केन्द्रका प्रमुख हमालले पनि आफ्नो कार्यालयले किसानलाई क्षतिपूर्ति दिलाउन सघाइरहेको दाबी गरे। “हामीले कृषि मन्त्रालयलाई नोक्सानको प्रतिवेदन बुझाएर क्षतिपूर्ति मागिसकेका छौं” हमालले गत फागुन अन्तिम साता भने, “जिल्लाका अरू आठ शीतभण्डारको १० टन नोक्सान थप गरी ७४ टनको क्षतिपूर्ति मागेका छौं ।” मौद्रिक हिसाबमा कति क्षतिपूर्ति मागिएको हो भन्ने प्रश्नमा हमालले, हाललाई आर्थिक आकलन उल्लेख नगरी नोक्सानको विवरण मात्र पठाइएको जनाए । दुई सातापछि ‘अपडेट’ लिन खोज्दा क्षतिपूर्तिको प्रक्रिया मन्त्रालयमा अगाडि बढिसकेको र नोक्सानी व्यहोरेका २०० किसानको नाम सूची बनाएर पठाइएको हमालले सुनाए।

सरकारी अधिकारी भने अड्चन हुँदाहुँदै पनि परियोजना अगाडि बढाउन चाहन्छन् । सुन्तला सुपर जोन परियोजना कार्यालयका कृषि अधिकृत टुकबहादुर थापालाई उनको कार्यालयमा भेट्दा उनी अब पछाडि फर्केर हेर्नभन्दा अगाडि बढ्न आतुर देखिन्थे। “जे नहुनु थियो, त्यो भइसक्यो । तत्काल हाम्रो मुख्य ध्यान जेजति भाउ पाइन्छ, त्यतिमा सके जति सुन्तला बेच्नेतिर केन्द्रित छ। अहिले अलमलिने समय छैन” थापाले भने, “तर यो गतिलो पाठ भयो । अर्को वर्ष पनि यस्तै गल्ती दोहोर्‍याउने छुट भने हुनुहुँदैन।”

हताशापछिको आशा

“हामीले उत्पादनपछि पनि कसरी फलको आयु लम्ब्याउन सकिन्छ भन्नेबारे अध्ययन गर्न जरूरी छ” प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकारी हिक्मतकुमार श्रेष्ठ भन्छन्, “फलको आयु जति लामो हुन्छ, किसानलाई उति नै बढी लाभ मिल्छ । सरकारले यस क्षेत्रमा खोज अनुसन्धान बढाउनुपर्छ।”

दिलबहादुर राना जस्ता किसान नोक्सानले केही हच्किए पनि निरुत्साहित छैनन् । राहत पर्खंदै गर्दा पनि उनलाई शीतभण्डारको विकल्प छैन भन्ने नै लाग्छ । फागुन अन्तिम साता कुरा गर्दा उनी आशावादी नै सुनिए । सुन्तलामा मल हाल्न बगैंचा पुगेका उनी भन्दैथिए, “शीतभण्डार सुध्रिन्छ होला अब । सुध्रिनैपर्छ।”

६ लाख रुपैयाँ लगानी र १५ लाख बराबरको अपेक्षित नाफा गुमाएको दाबी गर्ने राना यस वर्ष लड्खडाए पनि अर्को वर्ष लय समात्न सक्नेमा दृढ सुनिन्छन् । “अझै कम्तीमा ५० वर्ष सुन्तलाका यिनै रूखले फल देलान् । जति गुमाएँ, सुन्तलाबाटै कमाउँछु । बगैंचाका बोटमा नयाँ कोपिला पलाउन थालिसके” उनले भने।

वसन्त ऋतुको आगमनसँगै रानाको बगैंचा नयाँ फूलले सेताम्मे भयो र फेरि पनि मनग्ये सुन्तला फल्ने आशा जगायो । तर चैत दोस्रो सातासम्ममा बेमौसमी वर्षा र असिनाले चुटेर फूल भुइँमा झारिदियो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.