ट्याक्सीको अनुगमन गर्न नसक्दा बढ्यो ट्याक्सी ड्राइभरको मनोमानी

काठमाडौं ।

गुणस्तर तथा नापतौल विभागले ट्याक्सीको अनुगमन गर्न नसक्दा ट्याक्सी ड्राइभरको मनोमानी बढेको छ । ट्याक्सी ड्राइभरको मनोमानीले उपभोक्ता ठगिएका छन् ।

विभागले ०७४ मा ४५ पटक मात्रै अनुगमन भएको गरेको जनाएको छ । अझ चैत यता भने एकपटक पनि अनुगमन गर्न सकेको छैन ।
पछिल्लो समय कर्मचारीको कमी भएकै कारण अनुगमन हुन समस्या परेको हो । ५ जनाको दरबन्दी तोकिएकोमा ३ जनामात्र कर्मचारी रहेको विभागले जानकारी दिएको छ ।

‘सुरुवातमा ६/७ हजार ट्याक्सी हुँदा काजमा कर्मचारी राखि ६ जना कर्मचारी राखिएकोमा अहिले १० हजारभन्दा बढीको संख्यामा ट्याक्सी छन्, तर ३ जना कर्मचारीले विभागभित्रको काम हेर्ने कि अनुगमनको काम ?’ एक कर्मचारीले बताए।

विभागका महा निर्देशक विश्वबाबु पुडाशैनीले संक्रमणकालिन अवस्थाका कारण कर्मचारी राख्न नसकिएको बताए । अहिले कर्मचारी सरुवा पनि गर्न नमिल्ने, काजमा पनि ल्याउन नमिल्ने भएकै कारण कर्मचारी थप गर्न समस्या परिरहेको पुडाशैनीले बताए ।

‘हामी अरु अफिसको सरुवा गरेर ल्याउने हो कि काजमा ल्याउने हो तर, अहिलेलाई यी दुबै कुरा हुन सकेको छैन्,’ उनले भने । यसले गर्दा आवश्यक भएर पनि अन्य कर्मचारी थप गर्न नसकिएको उनले बताए । कर्मचारी व्यवस्थापन गर्नका लागि अझै एक/डेढ महिना कुर्नुपर्ने, त्यसपछि मात्र कर्मचारी व्यवस्थापन हुने उनको भनाइ छ ।

‘अहिले जम्मा ३ जना कर्मचारी छन्, त्यसले गर्दा ट्याक्सीको विषयमा हुने कामहरु पनि राम्रोसँग हुन सकेको छैन, एक जनाले सिल लगानु पर्यो एक जना मेसिनमा बस्नु पर्यो, अर्को बिल बनाउने चाहियो, एउटा फाइलिङ गर्ने चाहियो, यसरी हेर्दा ४ जना अनिवार्य चाहिने हो,’ पुडाशैनीले भने । ट्याक्सीको विषयमा मुख्य समस्या भनेकै मिटरमा नहिड्ने, जथाभाबी पैसा उठाएर यात्रुलाई ठग्ने रहेको बताउँछन् उनी ।

‘उनीहरुको भित्री समस्या होला, उनीहरुको खर्च नपुग्ने होला, तर मूख्य समस्या के हो भने उनीहरु सकेसम्म यात्रुबाट पैसा कसरी असुल्ने भन्दा केही एटिच्यूड देखाउँदैनन्,’ उनले भने । विभागले ट्याक्सीवालाहरुलाई बेलाबेलामा बोलायर मिटरको विषय ब्याप्त भइसकेको र जनताले उनीहरुलाई हेर्ने दृष्टिकोण धेरै नराम्रो भएको भनेर सुध्रिने मौका पनि दिएको उनले जानकारी दिए ।

‘ट्याक्सीवालाहरुलाई हामीले सम्झाउन पटकपटक बोलाएका पनि छौँ, तर उनीहरुको गुनासो फेरी त्यही हुन्छ, पैसा पुगेन भन्छन्, यहाँ यात्रुको पनि समस्या छ, उनीहरु आफैं मिटरमा जाने भन्नु भन्दा पहिला कतिमा जाने भनेर सोध्छन्, यसलाई परिवर्तन गर्न आवश्यक छ,’ पुडाशैनीले भने ।

विभागले ट्याक्सी भाडा प्रतिमिटर ३५ रुपैयाँ तोकेको छ । आगामी दिनमा यो विषयलाई हल्का रुपमा नभई दिर्घकालिन रुपमा लानका लागि छलफल भइरहेको उनले बताए ।‘हामीले यस विषयलाई मन्त्रालय स्तरमा पनि राखेका छौँ, यसको लागि छलफल भइरहेको छ,’ उनले भने ।

ट्याक्सी चालकहरुले भाडा समायाजनको माग पटक पटक राख्दै आएका छन् ।पुडाशैनीले भाडा समायोजनमा जाने होभने ट्याक्सीले पनि रुट अनुसार बसजस्तै चलाउनु पर्ने बताए ।

‘उनीहरुले भने जस्तो भाडा समायोजन गर्न सम्भव नै छैन, कहाँदेखी कहाँसम्मको भाडा तोकिदिने, कित लोकल बस भएर हिड्नु पर्यो, रुटअनुसार उनीहरुले पनि चलाउनु पर्यो, लोक बस जस्तो खोजेको हो भने त ट्याक्सीमा मिटर पनि हाल्नु पर्यो नि,’ उनले भने, ‘यस्तै हो भने यातायातसँग कुरा गरेर माइक्रोबसमा ८ जना यात्रु भनिए जस्तो उनीहरुकोमा ४ जना यात्रु बस्छन् । त्यस्तो हुन सक्दैन् । अर्को भाडा समायोजनको काम हाम्रो हुँदै होइन, हामीले त कुन चाहीँ मिटर ठिक छैन् सिल लगाइदिने हाम्रो काम हो, मिटर अनुसार यात्रा गराउने काम ट्याक्सीवालाको हो,’ पुडाशैनीले भने ।

हाल विभागले नविकरण गर्न आएकै मानिसहरुबाट बिलिङ मेसिन राखिएको छ÷छैन भनि गर्दै आएको छ । विभागका अनुसार बिलिङ मिटर नभएको ट्याक्सीको कुनै काम अघि नबढाउने गरेको छ ।

ट्याक्सी नविकरण गर्न आउँदा सबै जासेले पछिल्लो समय बिलिङ मेसिन राखेको पाइएको विभागले जानकारी दिएको छ ।

के भन्छन् ट्याक्सीधनी ?

२३ वर्षदेखि ट्याक्सी चलाउँदै आएका कृष्ण बहादुर साप्कोटा नेपालमा सबै कुरामा मूल्य बढे पनि ट्याक्सी भाडा नबढेको भन्दै गुनासो गर्छन् । दिनमा ३/४ टिप गर्ने गरेका उनी कहिलेकाहीँ १ टिप मात्र चलाउनुपर्दा घर खर्च चलाउन गारो हुने बताउँछन् ।

‘पेट्रोलको मूल्य हप्ता १५ दिन नपुग्दै बढ्छ, हामीले भाडा समायोजन गरिदेउ मात्र भनेका हौँ, भाडा समायोजन नहुँदा बाध्यताले पनि यसो गर्नु परेको छ,’ सापकोटाले भने ।

ट्राफिकले सिभिल ड्रेसमा आएर चेक गर्ने तर मिटरमै लान्छु भन्दानी यतिकै जाउँन भन्दै चिट काट्ने गरेको उनी बताउँछन् ।

९ वर्षदेखि ट्याक्सी चलाउँदै आएका सन्तोष कुमार कार्कीले अघिल्लो वर्षमात्र ट्याक्सी ८ प्रतिशत ऋण लिएका हुन् । अहिले उनी बैंकलाई १४ प्रतिशत ब्याज तिर्छन् ।

‘बैंकको ब्याजदर बढ्छ, दाल, चामलदेखि घरभाडासम्म सबै कुरमा मूल्य बढ्छ, तर हामीले यात्रुसँगै भनेर अलि बढी पैसा लियो भने ३ हजार रुपैयाँ जरिवाना काट्छ,’ कार्कीले दुखेसो पोखे ।

सुरुमा मिटरबक्स अनिवार्य भनेको थियो अहिले २० हजार रुपैयाँ तिरेर बिलिङ मेसिन जोड्नु परेको छ, अब गाडीभाडा तिर्ने छुट्टै एप आउछ रे, खै कति पर्ने हो त्यसका, सरकारले गरी खान दिँदैन, पैसा लुट्ने बाटो मात्र गर्छ,’ कार्कीले भने ।

यस्तै १६ वर्षदेखि ट्याक्सी चलाउदै आएका पूर्णबहादुर मगर २०७० सालदेखि अहिलेसम्म सबै कुरामा महंगी बढेको तर ट्याक्सी भाडा कहिले नबढेको बताउँछन् ।

‘ट्याक्सी बाभाडा बढाए हामीले बढी पैसा लिनै पर्दैन नि, कि भाडा समायोजना गरिदिनु पर्यो, उहादेखि यहाँसम्मको यति भाडा भने भै हाल्यो नी, हामीले चाहीँ गरिखानु परेन ?’ मगरले प्रश्न गरे, ‘हामीलाई सबैले ठग, चोर भन्छन्, मिटरमा उठेको पैसाले पेट्रोल पनि आउँदैन, हाम्रो मर्का चाहीँ बुझने कसले ?’

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.