पर्यटन महोत्सव चैत २१ देखि

म्याग्दी सदरमुकाम बेनीमा प्रथम पर्यटन महोत्सव आयोजना हुने भएको छ । रेडियो म्याग्दी १०४.४ मेगाहर्जको आयोजनामा चैत २१ गतेदेखि वैशाख १ गतेसम्म प्रथम म्याग्दी पर्यटन महोत्सव हुनलागेको हो ।

‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ पर्यटन महोत्सव आयोजना गरिएको रेडियोका संस्थापक अध्यक्ष एवं महोत्सवका मूल संयोजक चिरञ्जीवी शर्माले जानकारी दिए ।

स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको सांस्कृतिक प्रस्तुति रहने महोत्सवमा खुला लोकदोहोरी गीत प्रतियोगिता, म्याग्दी डान्स आइडलको रूपमा एकल नृत्यलगायतका प्रतियोगितासमेत समावेश गरिएको बताइएको छ ।

खुला दोहोरी गीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ भने नृत्य प्रतियोगीतामा क्रमशः २५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

बेनीको खुलामञ्चमा सञ्चालन हुने महोत्सवमा १०० व्यापारिक स्टल रहनेछन् । स्थानीय उत्पादनका वस्तुको प्रदर्शनी र प्रवर्द्धनका लागि आयोजकले १० स्टल निःशुल्क उपलब्ध गराउने महोत्सवका व्यवस्थापन संयोजक भरत ढकालले जानकारी दिए ।

“महोत्सवलाई हामीले जिल्लाको कला संस्कृतिको संरक्षण र संवर्द्धनको क्षेत्रमा केन्द्रित गर्दैछौँ, व्यावसायिक रूपमा मात्रै नभएर स्थानीय उत्पादनको प्रचारप्रसार र साना तथा घरेलु उद्योगको प्रवर्द्धनमा टेवा पुर्याउने हाम्रो उद्देश्य हो”, ढकालले भने ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.