अस्ट्रेलियामा कार्यक्रमका नाममा ओसारपसारको धन्दा!

यतिखेर हरेक साता अस्ट्रेलियामा कुनै न कुनै कार्यक्रम भइरहेका हुन्छन्। कहिले सातामै दुई-तीन वटासम्म पनि हुन्छ।

महोत्सव होस् वा मेला या कुनै भेला सबैमा नेपालबाट कलाकार बोलाउने चलन ह्वात्तै बढेको छ। महिना दुई महिनामा हुने नेपाली कार्यक्रम पछिल्लो समय सातामै दुई वा सो भन्दा बढी हुँदा सहभागीको संख्या पातलिन थालेको छ।

पछिल्लो समय सिड्नीमा फिल्म, साहित्य या महोत्सव र जात्रा सबैले पालो पाएकै छन्। पहिले पहिले शुल्क लाग्दा पनि थेगिनसक्ने भीड हुने सिडनीमा अहिले निःशुल्क कार्यक्रम हुँदा पनि खाली हल र चउरले पक्कै पनि कार्यक्रमहरु आवश्यक भन्दा बढि भएको हो की भन्ने भान परेको छ।

यसो शहरतिर दुई चार जना हुल बाँधेर हिड्यो भने कुनै नयाँ कार्यक्रम रहेछ भन्ने अड्कल काटिन थालेको छ।

पछिल्लो परिस्थितिमा आयोजक भन्दा पनि प्रायोजकसमेत डराउन थालेका छन्। सिडनीका कार्यक्रममा प्रायोजकको आकर्षण भनेकै एजुकेशन एन्ड माइग्रेशन एजेन्सी हुन्। पछिल्लो चरणमा आएर केही घरजग्गा ब्यवसायी देखिएका छन्। तर, अब कार्यक्रमको भिड र आयोजकको जोड घटाउले सिडनीमा नेपाली कार्यक्रमको बारेमा केही नकारात्मक टीप्पणीहरू सुनिन थालेका छन्।

यसरी हप्तैपिच्छे हुने यस्ता कार्यक्रममा केही राम्रा उद्धेश्यका लागि हुन्छन् भने कोही हाम्राका लागि हुन थालेका छन्।

केही कार्यक्रम रमाउन गरिएको हुन्छ भने केही कार्यक्रम कमाउनकै लागि गरिएको हुन्छ।

फेसबुकमा प्रचार गर्ने, नेपालबाट कलाकार मगाउने विमानस्थलमा प्रायोजकको बोर्ड राखेर खाता लाउने फेसबुक लाइभ गर्ने अनि कार्यक्रम सकिएपछि काम तमाम!

विमानस्थलमा हप्तै पिच्छे नेपाली कलाकारको स्वागतमा गरिने यस्ता नाटक मन्चनले अन्य यात्रुलाई बाधा पुर्‍याए पण्डित प्रकाश ढोडारीले बताए।

‘कार्यक्रम भन्दा पनि विमानस्थलमा राखिएका बडेमानका होर्डिङ बोर्ड र माला तथा खादाको स्वागतले हाम्रो नेपालीपनको प्रतिष्ठालाई समेत नकारात्मक प्रभाव पारेको छ,’ पण्डीत ढोडारीले  गुनासो गरे।

केही कार्यक्रममले नेपालको परिचय र शोभा बढाएका पनि छन् तर केही कार्यक्रमले नाक काटेको पनि उदाहरण भेटिन्छन् सिड्नीमा।

रकडेलको एक कार्यक्रममा मैदानको फोहोर नउठाएको कारण काउन्सिलको जरीवाना र बदनामीका समाचारसमेत आएका छन्।
कार्यक्रमको रुपरेखाभन्दा पहिला फेसबुकमा प्रायोजक र भिसा पार्टनर अनि कलाकारको फोटो सहितका पोष्टर पढ्न पाइन्छ।

अनि त्यसपछि भिसा लाग्यो भन्ने फोटोसहितको अर्को पोष्टर त्यसपछि बल्ल विमानस्थलको स्वागत। तर, धेरैको स्वागत गरिहँदा केही बाहेक अरुको बिदाइ भएको पोष्टर भने आउँदैनन्। कति आउछन, कति जान्छन् पत्तो पाउन मुस्किल छ।

यस्तै कार्यक्रमका नाममा आएका केही यतै विद्यार्थी भिसामा बसेको समेत भेटिएका छन्। त्यती मात्र होइन एउटा उद्धेश्यका लागि आमन्त्रण गरेका ब्यक्ति यतै बसेर अर्को उद्धेश्य पूर्ति गर्नु भनेको गैर जिम्मेवारी र बेइमानी पनि हो।

यस्तै खेलमा कतिपय झेल गर्नेहरू पनि सिड्नीमा भेटिन्छन्। कतिपय कार्यक्रमहरु ठूला ठूला समाजिक ब्यानर र आकर्षक नारामा कार्यक्रम सम्पन्न गरे पनि अझैसम्म सयमा एक बाहेक उनान्सयले कति आम्दानी, कती खर्च, नाफा/घाटा केही सार्वजनिक गरेका छैनन्।

पछिल्लो समयमा फुड फेस्टिवलदेखि फील्म फेस्टिबलसम्म अनि नाटकदेखि नौटंकीसम्म सबै सिडनीबासीको नाममा अस्ट्रेलिया भित्रिसके पनि यसभित्र लुकेको बास्तविकता खुल्न सकेको छैन।

सिड्नीका कानुन ब्यवसायी खिलेन्द्रराज तिम्सीनाले कार्यक्रमका नाममा गलत उद्धेस्य बोकेर बदनाम गराउनेलाई पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँछन्।

‘फिल्म देखाउने, सांस्कृतिक कार्यक्रम गर्ने र अन्य बहानामा आर्थिक प्रलोभनमा परेर भिसा लाउनु सरासर बेइमानी हो। यस्तो हुँदा बास्तविक कलाकारले भोलिका दिनमा अस्ट्रेलिया आउन कठिन हुन्छ,’ तिम्सीनाले सेतोपाटीसँग भने।

टुरीस्ट भिसामा मानिस ल्याउने र विद्यार्थी बनाएर लिगलाइज् बनाउने काम धमाधम भइरहेको तिम्सीनाको दाबी छ।

अस्ट्रेलियन सरकारले दिएको सहुलियतलाई उपयोग गर्नु अलग बिषय भए पनि एउटा कार्यक्रमको नाममा ल्याएर अर्को उद्धेश्य पूर्ति गर्ने काम भने गलत भइरहेको उनले बताए।

प्रवासमा नेपालीपन झल्कने र माया टल्कने कार्यक्रम गर्नु खुसी र गर्वको विषय हो। तर, यसका नाममा मानवतस्करी र भिसा लगाउने काम हुनु भनेको बदमाशी र बेइमानी भएको राइट एन्ड एशोशीएटका निर्देशक बालचन्द्र भट्टराईले बताए।

‘कलाकार गहना हुन्, प्रवासको माया र मोहले यतिखेर नेपाली फिल्म र कलाकारले केही हदसम्म राहत पाएका छन्। तर, मेला र महोत्सवको खेलमा मानवतस्करी गरेर पैसा कमाउने झेल चल्ने हो भने भोलिका दिनमा साच्चीकै कलाकारका लागि अस्ट्रेलिया कठिन पनि बन्नसक्छ’, भट्टराईले भने।

भर्खरै मात्र नेपालमा नाम चलेका एक जोडी नायक नायिकाले अस्ट्रेलियाको भिसा पाएनन अनि चर्चित नेताले समेत प्रवेशाज्ञा नपाउँदा ठूलै हल्लीखल्ली भयो।

यस्तो परिवेश बढ्दै गएको कार्यक्रम र घटदै गएको लोकप्रियतालाई ध्यानमा राखेर यतिबेला केही आयोजकको बदमाशी नियाल्नुपर्ने बेला आइसकेको डा भरत पौडेलले बताए।

  • ‘हाम्रो सोच भनेको नेपालीजनको ध्यानमा राखेर प्रवासमा आयोजना हुने कार्यक्रमहरु हाम्राका लागि नभइ राम्राको लागि हुनुपर्छ भन्ने हो। एउटा कार्यक्रमका नाममा फरक उद्धेश्यका साथ भिसा लगाउने र मानिश भित्र्याउने खेल गरिन्छ भने त्यो सरासर गलत हो, यसले दुइ देश बिचको राम्रो सम्वन्धमा समेत असर पर्न सक्छ,’ उनले भने।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.