यी हुन् निर्णायक चरणमा पुगेका कोरोनाविरुद्धका १० भ्याक्सिन, कहिलेसम्म आउला ?

विश्व महामारी कोरोनाभाइरसविरुद्धको खोपको खोज अब अन्तिम चरणमा पुगेको छ।

ताजा अपडेटअनुसार हाल विश्वभर १० वटा भ्याक्सिन तेस्रो तथा अन्तिम चरणको क्लिनिकल ट्रायलमा छन्। योसँगै अब छिटै कोरोनाविरुद्धको भ्याक्सिन प्राप्त हुने खबरहरु पनि प्राप्त भइरहेका छन्। आउनुस् ती १० भ्याक्सिनका विषयमा चर्चा गरौँ–

अक्सफोर्ड युनिभर्सिटी र फर्मा कम्पनी एस्ट्रोजेनेकाले मिलेर कोरोनाविरुद्धको भ्याक्सिन विकास गरेका छन्। हाल यो भ्याक्सिनको अन्तिम चरणको क्लिनिकल ट्रायल विभिन्न देशमा भइरहेको छ। यो भ्याक्सिनप्रति विश्व जगत् नै विश्वस्त बनेका छन्। साथै एस्ट्रोजेनेकाले थुप्रै देशका सरकारसँगै करोडौँ डोज आपूर्ति गर्ने सम्झौता पनि गरिसकेको छ। 

कोरोना महामारीको उद्गमस्थल चीनमा पनि ४ वटा भ्याक्सिन अन्तिम ट्रायलमा छन्। चीनमा बहुचर्चित सिनोभ्याकसहित वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट÷सिनोफार्म, बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट्स÷सिनोफार्म र बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजीद्वारा विकसित भ्याक्सिनहरु रहेका छन्।

चीन र बेलायतका साथै अमेरिकी कम्पनीहरुले पनि कोरोनाविरुद्धको भ्याक्सिन विकास गरेका छन्। अमेरिकी कम्पनी मोडर्नाले आरएनएमा आधारित भ्याक्सिन बनाएको छ। जुन हाल अन्तिम चरणको परीक्षणमा छ। यसलाई अमेरिकी सरकारको फन्डिङ पनि प्राप्त भएको छ। यसका साथै फाइजरले पनि जर्मन कम्पनी बायोएनटेकका साथ मिलेर कोरोना भ्याक्सिन बनाएको छ। यो भ्याक्सिन पनि तेस्रो चरणको क्लिनिकल ट्रायलमा रहेको छ।

अमेरिकी कम्पनी नोभाभ्याक्सको कोरोना भ्याक्सिन पनि अन्तिम चरणको ट्रायलमा रहेको छ। यस्तै जोनसन एन्ड जोनसनको भ्याक्सिनको पनि निर्णयाक चरणको परीक्षण भइरहेको छ।

रुसको गामलेया इन्स्टिच्युटले बनाएको स्पुत्निक–भी भ्याक्सिनको पनि हाल थुप्रै देशमा अन्तिम चरणको ट्रायल भइरहेको छ। रुस सरकारले यो भ्याक्सिनको प्रयोग गर्न गत अगस्टमै अनुमति पनि दिइसकेको छ। तर अन्य देशले यो भ्याक्सिनको प्रभावकारिता र सुरक्षाका विषयमा प्रश्न उठाएपछि हाल ठूलो परिमाणमा अन्तिम चरणको क्लिनिकल ट्रायल भइरहेको हो।

यी १० वटै भ्याक्सिन डबल डोजवाला हुन्। अर्थात जब बजारमा यी भ्याक्सिन उपलब्ध हुनेछन्, तब मानिसले दुई डोज लगाउनुपर्नेछ। 

यीमध्ये कुनै भ्याक्सिन १४ दिन, कुनै २१ दिन र कुनै २८ दिनको अन्तरमा डोज लिनुपर्ने हुन्छ। सिनोभ्याकको भ्याक्सिन १४ दिनको अन्तरमा दुई डोज लिनुपर्ने हुन्छ भने अक्सफोर्डको भ्याक्सिनको डोज २८ दिनको अन्तरमा दुई डोज लगाउनुपर्ने हुन्छ। 

सम्भवतः यी भ्याक्सिनहरुमध्ये केही यो वर्षको अन्त्यसम्ममा वा सन् २०२१ को सुरुआतसम्म आउने सम्भावना प्रबल रहेको पनि जानकारहरु बताउँछन्। – एजेन्सी

सम्बन्धित
Leave A Reply

Your email address will not be published.