डलरको भाउ हालसम्मकै उच्च, कति पुग्यो त ?

अमेरिकी डलरको भाउ दिनहुँ बढ्दै गएपछि नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेकाे छ । राष्ट बैंकले आइतबार (आज) का लागि तोकेको डलरको भाउ १ बराबर १ सय १८ रुपैयाँ ३३ पैसा छ । यसको अर्थ नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर सावित भएको अवस्था हो ।

दुई दिनअघि शुक्रबार १ अमेरिकी डलर खरिद गर्न १ सय १८ रुपैयाँ ३ पैसा खर्चनुपथ्र्यो भने आज यसमा थप १५ पैसा महँगो हुन पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबारका लागि १ डलरबराबर १ सय १८ रुपैयाँ ३३ खरिद दर र १ सय १७ रुपैयाँ ७३ पैसा बिक्री दर तोकिएको छ । यो भनेको डलरको भाउ हालसम्मकै सर्वाधिक महँगो भएको रेकर्ड हो । पछिल्ला केही दिन तलमाथि भइरहेको डलर भाउ गत बिहीबार १ डलरबराबर १ सय १७ रुपैयाँ ६५ पैसा थियो ।

राष्ट्र बैंकको शुक्रबारको विनिमय दरअनुसार १ अमेरिकी डलरबराबर १ सय १८ रुपैयाँ ३ पैसा बिक्री दर र १ सय १७ रुपैयाँ ४३ पैसा खरिद दर थियो । बिहीबार भने १ डलरबराबर १ सय १७ रुपैयाँ ६५ पैसा बिक्री दर र १ सय १७ रुपैयाँ ५ पैसा खरिद दर थियो । बुधबार डलरको बिक्री दर १ सय १६ रुपैयाँ ९६ पैसा र खरिद दर १ सय १६ रुपैयाँ ३६ पैसा पुगेको थियो ।

अमेरिकी डलर संसारभरका मुद्राको दाँजोमा पछिल्लो पटक सबैभन्दा बलियो भएको छ । पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ ९भारु० अवमूल्यन हुने क्रम जारी छ । यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा परेको छ किनभने भारु १ सयबराबर नेपाली मुद्रा १ सय ६० रुपैयाँको स्थिर विनिमय दर रहेको छ । यो साढे तीन दशकदेखिको विनिमय दर हो । यस हिसाबले आइतबार १ अमेरिकी डलरबराबर भारु ७३ रुपैयाँ ९५ पैसा रहेको छ ।

डलर भाउ जति बढ्दै जान्छ, नेपालीले उपभोग गर्ने सामानको भाउ उति महँगो हुने गर्छ । नेपालले निर्यातको दाँजोमा वस्तु आयात ११ गुणासम्म बढी गर्ने गरेको पछिल्लो तथ्यांकले देखाउँछ । स्थानीय उत्पादन लगभग शून्यजस्तै हुनु र त्यसमाथि दैनिक उपभोग्य सामान विदेशबाटै किनेर ल्याउनु परेपछि डलर महँगिदा उपभोक्ताले महँगी खेप्नु स्वाभाविक हो । यसपापिलको चाडबाड महँगो हुने निश्चित छ ।

अमेरिकी मुद्रा स्फीति, बेरोजगारी दरमा राम्रो सुधार आएका कारण उसको अर्थतन्त्र समग्र हिसाबमा बलियो हुँदै गएका कारण डलरको भाउ केही समयदेखि बढिरहेको छ । डलरको भाउ केही दिनभित्रै १ सय २० रुपैयाँसम्म पुग्ने सम्भावना यस क्षेत्रका विज्ञले औंल्याइसकेका छन् ।

राष्ट्र बैंकका अनुसार असोज ३ गते डलरको भाउ १ बराबर १ सय १७ रुपैयाँ ७ पैसा पुगेको थियो भने त्यसको १० दिनअघि १ सय १६ रुपैयाँ २३ पैसाबराबर भएको थियो । डेढ महिनाअघिसम्म प्रतिडलर १ सय १० रुपैयाँहाराहारी थियो । तर, एक्कासि डलरको भाउ ह्वात्तै बढ्न थालेयता कम आय हुनेदेखि बढी आय हुनेसम्मलाई असार पार्न थालेको छ । त्यसमाथि ठूला चाड दसैं र तिहार नजिकिएका बेला अमेरिकी डलरको भाउ महँगो हुँदा चाडबाड मनाउन पहिलाभन्दा महँगो पर्ने छ । जसका कारण प्रत्येक नेपाली परिवारलाई असर पर्न थालिसकेको छ ।

ताजा तथ्यांकअनुसार मुलुकको व्यापार घाटा बढेर ११ खर्ब ६१ अर्ब ६४ करोड रुपैयाँबराबर पुगेको छ । नेपालले पेट्रोलियम पदार्थदेखि गाडी, यसका पुर्जा आयातमा ठूलो परिमाणबराबरको रकम खर्च गर्दै आएको छ । अर्थतन्त्रको प्रमुख समस्या नै बढिरहेको व्यापार घाटा हो । नेपालबाट गत आर्थिक वर्ष २०७४–७५ मा ८१ अर्ब १९ करोड रुपैयाँबराबरका वस्तु विभिन्न देशमा निर्यात गरेको तथ्यांक सरकारसँग छ, तर यसको ठिक विपरीत १२ खर्ब ४३ अर्ब रुपैयाँबराबरका वस्तु आयात गरेको थियो ।

उच्च व्यापार घाटा भएका बेला डलर महँगो हुँदा नोक्सानी पनि त्यति नै ठूलो हुने गर्छ । तर, डलर महँगो हुँदा नेपालजस्तो देशका लागि एउटा फाइदा भने छ । त्यो के हो भने जति धेरै डलरको भाउ बढ्दै जान्छ विदेश बस्ने नेपालीले रेमिट्यान्स पनि त्यति नै धेरै पठाउने गर्छन् ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो । तै पनि यो रेमिट्यान्स परिमाणभन्दा आयात परिमाण धेरै उच्च भएका कारण डलर महँगिदा पनि अर्थतन्त्रलाई नोक्सान नै भएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.