तातोपानी नाका खोल्न धमाधम काम, चीनले बनाउँदैछ सडक र पुल, सडक विभागले माग्यो ३० करोड रुपैयाँ

काठमाडौं। भूकम्प अघि नेपाल-चीनको प्रमुख व्यापारिक नाका पुर्ननिर्माणका लागि सडक विभागले ३० करोड रुपैयाँ माग गरेको छ।

वैशाखसम्म बाह्रविसे-तातोपानीहुँदै चीन जोड्ने लिपिङ बजारको मितेरी पुलसम्मको सडक पुर्ननिर्माणका लागि विभागले यो रकम मागेको हो।भूकम्पपछि यो नाका बन्द छ। भूकम्पपछि खासा बजार क्षेत्रका वासिन्दालार्इ समेत सिगात्से पुर्नस्थापना गरेको छ। चीनले यो नाका खोल्नेगरि आफ्नो तर्फको पुर्ननिर्माण गरिरहेको छ।

विभागका अनुसार चीनले मितेरी पुल पुर्ननिर्माण गरिरहेकोले यो नाकालार्इ प्राथमिकतामा राखिएको देखिन्छ। दुर्इ देशलार्इ जोड्ने मितेरी पुल समेत चीन सरकार आफैले धमाधम निर्माण गरिरहेको छ।आगामी फागुन मसान्त चैतसम्ममा मितेरी पुल समेत तयार हुनेछ। नेपालतर्फको मितेरी पुलदेखि ६ किमी सडक चीन सरकार आफैले बनाइदिन सुरु गरिसकेको छ।

विभागका प्रवक्ता मुक्ति गौतमले सडक पुर्ननिर्माणको लागि ३० करोड रुपैयाँ अर्थमन्त्रालयसँग मागिएको बताउँदै वैशाखसम्म यो सडक बनिसक्ने दाबी गरे।’हामीले सडक पुर्ननिर्माणका लागि अर्थसँग पैसा मागेका छौं। पैसा निकासा हुने वित्तिकै ठेक्का निकालेर काम सुरु गरिहाल्छौं’ गौतमले बिजमाण्डूसँग भने।

गौतमका अनुसार आगामी बैशासम्ममा सडकको निर्माण तथा स्तरोन्नती  सकेर पूर्ण रुपमा संचालन गर्न मिल्नेछ। करिब २२ किमी लामो यो सडक ‘डेडिकेटेड डबल’ लेनको बनाउनका लागिएको हो।०७१ मा गएको जुरे पहिरो, ०७२ सालको विनाशकारी महाभूकम्प,०७३ सालमा भोटेकोसीमा आएको बाढीले कोदारी राजमार्गका ६० भन्दा बढी स्थानको सडक क्षतिग्रस्त भएको छ। त्यसमध्ये पनि सबैभन्दा बढी क्षति तातोपानी आसपासको क्षेत्रमा भएको थियो। सडकको पहिरोहरु हटाएर अहिले तातोपानीसम्म गाडी चलिरहेका छन्।तर मालवाहक ट्रकहरु भने साँघुरो बाटो भएका कारण त्यहासम्म पुग्न सक्दैनन्।

विभागले माथि भीर धेरै भएकाले त्यसलार्इ कटिङ नगरि तलबाट वाल उठाउने र पहिरो फ्याँकेर स्तरोन्नति गरि दुर्इलेनको सडक बनाउन लागेको हो।

तयार हुँदैछ लार्चामा सुक्खा बन्दरगाह 
चीन नेपाल जोड्ने र मितेरी पुलबाट नेपालतर्फ करिव ६ किमीमा पर्ने लार्चामा आधुनिक भवन सहितको सुख्खा बन्दरगाह निर्माण तीब्र रुपमा भइरहेको छ।

गत जेठबाट पुर्ननिर्माण सुरु गरिएको बन्दरगाह अन्तिम अवस्थामा छ।  बैशाखमा बन्दरगाह निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर विनोद आचार्यले जानकारी दिए। उनका अनुसार  करिव मूख्य संरचनाहरु तयार भैसक्ने अवस्थामा पुगेका छन्।

नेपाल र चीन सरकारका वीचमा द्धिपक्षीय सम्झौता भएर ०६९ सालबाट बन्दरगाह निर्माण सुरु गरिएको थियो।बन्दरगाहभित्र बन्ने मुख्य प्रशासनिक भवन सहितका संरचनाहरुले एक खालको आकार लिर्इसकेका थिए। ०७२ वैशाख १२ मा आएको भूकम्पले ठुलो क्षति पुर्यायो।तातोपानी क्षेत्रमा पनि ठुलो क्षति पुग्यो।चिनियाँ भुभागमा पर्ने खासा बजारमा समेत क्षति पुग्यो।

भूकम्प गएपछि तातोपानी नाका बन्द भयो। २०१७ मार्चमा चिनियाँ दुतावास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वीच सुख्खा बन्दरगाह संचालनमा ल्याउने सहमति भयो।१५ करोड खर्चेर पुर्ननिर्माण भैरहेको बन्दरगाह भोटेकोसीमा आएको बाढीले  फेरी पहिलेकै अवस्थामा फर्काइदियो।

त्यसपछि पुन अहिले दुर्इ देशका वीचमा समझदारी भएर निर्माण भइरहेको छ। मूख्य प्रशासनिक भवन ठडिसकेको छ।अहिले पार्किङ र टर्मिनलका कामहरु भैरहेको इन्जिनियर आचार्यले जानकारी दिए।त्यसै गरि बन्दरगाहसम्म पुग्नका लागि भोटेकोसीमाथि पुल समेत निर्माण भइरहेको छ।दुवैतिरको फाउण्डेसन तयार भएकाले अब त्यसमाथि डेक राख्ने काम सुरु गरिएको समितिले जनाएको छ।भोटेकोसीमाथि ९० मिटर लामो मोटरेवल पुल बनाउन लागिएको हो।चीन सरकारको १ अर्ब २० करोड रुपैयाँ बराबरको अनुदान सहयोगमा बन्दरगाह निर्माण थालिएको हो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.