चाडबाड नजिकिएसँगै यातायातमा मनपरी भाडा

ओखलढुंगा : 

चाडबाड नजिकिएसँगै सवारीसाधनले मनपरी भाडा असुल गर्न थालेका छन्। दुर्गम गाउँसम्म चल्ने यातायातमा मनपरी असुल्ने र भनेको ठाउँसम्म यात्रु नपुर्‍इ बाटैमा छोड्ने प्रवृत्ति बढेको छ। बसभरी यात्रु लिएर हिड्ने बस अहिले गाउँसम्म नपुगिबाटै बाटैबाट काउन्टर सञ्चालकले फर्काउन थालेका छन्। यात्रुको चाप बढेर सवारीसाधन अपुग हुने समयमा व्यवसायीको मनपरीले उपभोक्ता मर्कामा परेका छन्।

 

जिल्लाभित्र १० भन्दाबढी बस तथा दुई सय हाराहारीमा भाडाका जिप सञ्चालन हुन्छन्। धेरैले रुट अनुमति नै लिएका छैनन्। राजधानी र तराईसम्म चल्ने थप यात्रुबस ओखलढुंगा हुँदै खोटाङ र सोलुखुम्बुको सदरमुकामसम्म चल्छन्। सवारी सञ्चालकले चाडबाडको समय नजिकिएसँगै रिर्जभ भन्दै यात्रु ठग्न थालेको गुनासो बढे पनि सरोकारवाला निकायले चासो दिएको छैन। भाडा तथा निजी अधिकांश सवारीले रुट परमिट समेत लिएका छैनन्। जिपले पाँच सय रुपैयाँ तोकिएको रुटमा एक हजार रुपैयासम्म लिने गरेका छन्।

प्रहरीसँग मिलेर उनीहरूले यात्रु ठग्ने गरेको उपभोक्ताको गुनासो छ। चिसंखुगडी गाउँपालिकाको केन्द्र र कुइभीर तथा खानीभञ्ज्याङसम्म चल्ने सवारीसाधन खोटाङको रभुवाघाट नजिकै रोकिन थालेका छन्। चिसंखुगढी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरे यो समस्याको सुनुवाइ भएको छैन।

सवारीसाधान अभावले समस्या आउने गरेको अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रमुख कुमार फुँयालले बताए। रुट परमिट नभएका सवारीसाधन धेरै भएकोले कारवाही गर्दा यातायात अस्तव्यस्त हुने उनले दाबी गरे। समस्या बढेर गुनासो आउन थालेपछि चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माको पहलमा जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायी राखेर शुक्रबार छलफल समेत गराएको छ।

अनुगमन गर्न ट्राफिक प्रहरीलाई जिम्मेवारी भए पनि प्रभाकारी अनुगमन नभएपछि यात्रु दैनिक ठगिने गरेका हुन्। यातायात क्षेत्रका सबै समस्या समाधानका लागि सरकारले पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानले बताइन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.